प्रदेश ६

स्मार्ट रिफ्रेस सेन्टर शिलान्यास

बुटवल| नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताउनुभएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको आज शिलान्यास गर्दै उहाँले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका मुख्य नेताबीचको समझदारी र एकता न्यूनतम शर्त भएको स्पष्ट गर्नुभयो । नेता पोखरेलले सहमति र सहकार्य अहिलेका सन्दर्भमा अपरिहार्य आवश्यकता भएकामा जोड दिनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले कानून निर्माणमा प्रदेश अग्रणी भएको जिकिर गर्दै सबैभन्दा बढी पूँजीगत खर्च हुने प्रदेश पनि लुम्बिनी नै भएको बताउनुभयो ।
राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले अव्यवस्थित बसोबासको समस्या समेत सम्बोधन गरिने बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभ्यता र संस्कृति निर्माणमा सेन्टरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा यसलाई विभिन्न जिल्लामा विस्तार गरिने उल्लेख गर्नुभयो ।
प्रदेशसभामा सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले नगरपालिकाको सो क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा घोषणा गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । करीब दुई बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सो सेन्टरको प्रथम चरणको लागत रु तीन करोड ५५ लाख ७९ हजार ५१० छ । प्रदेश सरकारले त्यस्तो सेन्टर रुपन्देहीबाहेक, नवलपरासी, कपिलवस्तु, दाङ र बर्दियामा निर्माण गर्न लागेको छ । सैनामैनामा निर्माण हुन लागेको सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको हो ।
अत्यधुनिक  सार्वजनिक शौचालयसहितको सो सेन्टर निर्माण दुई वर्षमा पूरा भएपछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुनेछ । चिया, कफी पाइने सो सेन्टरमा लामो दूरीका सवारी चालकलाई आरामका लागि व्यवस्था गरिएको छ । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख विना राना, रुपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, खानेपानी महाशाखा प्रमुख ध्रुव धिताललगायतले सो परियोजनाबाट सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button