समाज

सत्कर्मको सान ! यो देशका प्रत्येक कुलमानहरुले ठाउँ पाउनु पर्छ

राजन बिडारी//

नालयकहरुको जमातमा एक्लो कुलमान आँखाको कसिङ्गर बन्नु कुनै अचम्म भएन । उनको डाह गर्नेहरुले ख्याल गरून् कि यदि तिमीहरु जस्तै नालायक बनिदिएको भए कुलमान पनि जनताको नजरमा उहीँ र उस्तै नै साबित हुने थिए । नागरिकको तहबाट उनले आज जे जस्तो सद्भाव अनि साथ पाएका छन्, त्यो सब उनकै सत्कर्म, मेहनत एवं विवेक पुर्ण कदमका कारण आर्जित भएका हुन ।

यति छोटो समयमा एउटा धरासायी भएको संस्थाको कायापलट नै गरेर देखाएका कुलमानका पछि नागरिक स्वस्फुर्त समर्थन नहुने कुरै भएन । उनी आफू नियुक्त हुँदाको बखतमा जे प्रतिबद्धता गरेका थिए, ती सब भन्दा धेरै गरेरै देखाए । तत्कालीन अबस्थामा घोषित १८ घण्टाको लोडसेडिङ्ग क्रमशः हटाउदै मात्रै गएनन, अपितु विद्युत प्राधिकरण स्वयंको गौरव अनि कर्मचारी सान समेत उच्च पार्न सके । हिजोका दिनमा भित्र भित्रै धमिरा लागि अर्वौ घाटामा गएको संस्थाको सर्व पक्षीय सुधार गर्दै आजका दिनमा ७ अर्व भन्दा माथी नाफामा रहनु ‘गरे हुन्छ, गर्न सकिन्छ’ को दरिलो प्रमाण हो । अँध्यारो नेपालको अवस्थामा युटर्न ल्याई आज विद्युतीय उर्जाको क्षेत्रमा अनेकौ सम्भावनाको ढोका खोलिदिन सकेका उनीलाई हार्दिक सलाम किन नभनु?

वस यिनै र यस्तै कारणले गर्दा हो कि कुलमानको साथ अनि समर्थनमा जनलहर उर्लेको । अर्थात् कर्म (उज्यालो नेपालका प्रणेता) बाटै मन जितेका हुन, नकि कसैको फोस्रो वा देखावटी वा दयाका पात्र बनेका कदापि होइनन् । उनलाई नियुक्त गर्ने तत्लालिन उर्जा मन्त्री एवं सरकार समेतले जस पाएकै हुन । यसै बाट प्रमाणित हुन्छ कि, असलको साथले उ स्वयं मात्रै नभै वरपर रहेका समेतको सान अनि मान बढने आधार प्राप्त हुन सक्ने रहेछ । हामी नागरिकले Right man in right place (सही ठाउँमा सही ब्यक्ति) गरेकोमा तत्कालीन सरकारी संयन्त्रलाई धन्यवाद दिन सक्छौ, तर उज्यालो नेपालको अग्रज नेता भनेका केवल कुलमान नै हुन । यसमा कसैको रिस, डाह र छट्पटी हुनु, उ स्वयंको समस्या हो । राम्रो गरेको देख्न र सुन्न नसक्ने नकारात्मक चिन्तनले ग्रसित अँध्यारो मन भएको ब्यक्ति हो ।

कुलमानका नाममा यसो भनिरहँदा म उनलाई देवत्वकरण गरिरहेको छैन । केवल गरेको सत्कर्मको चर्चा मात्रै गरेको हुँ । कुलमान उनी स्वयंको कर्म, मेहनत अनि आत्मबिश्वास कै कारण सबैले साथ र समर्थन गरेका हुन । यो कुनै अर्को नामधारी ब्यक्तिले पनि आर्जन गर्न सक्छ; सत्कर्म र सुधारको वलमा । त्यसैले कुलमानको बिरुद्ध डाह अनि कुण्ठा पाल्दै षडयन्त्र गर्नु भन्दा प्राप्त जिम्मेवारी र दायित्व प्रति इमानदारीका साथ भुमिका निर्वाह गरौ, क्षमता एवं कुशलता प्रदर्शन गरौ कि कुलमान भन्दा ज्यादा गौरव आर्जन गर्न सकियोस ।

अत: आजको आवश्यकता भनेको एक्लो कुलमानले गर्न सकेका उपलब्धिलाई खसाल्ने, गिराउने हैन; बल्की अरु त्यस्तै कुलमानहरु रोप्ने अनि फुल्न फल्न दिने हो । बिग्रेकै ठाउँ अर्थात चुनौतीलाई पार लाउन सक्ने ब्यक्तित्वको खोजी गरि अवसर प्रदान गर्ने हो, गर्न खोज्नेलाई खुल्ला साथ र समर्थन दिने हो ।

मेरो नीजि साइनो र स्वार्थ देखि टाढाका कुलमानलाई हार्दिक सलाम । र नेता ज्युहरुलाई सानो अनुरोध छ कि; कुलमानहरु जन्माउ र चुनौतीपूर्ण जिम्मेवारी देउँ । बस यत्ति नै मात्र गर्न सके पनि जनताले तिम्रा सय खत माफ गरिदिन्छ्न् ।

यो देशका प्रत्येक कुलमान प्रवृत्तिलाई सलाम छ । सबैको जयहोस ! सदा जयहोस!

अध्यक्ष
जीवन्त शिक्षा, स्वयंसेवी शैक्षिक अभियान

Related Articles

Back to top button