प्रदेश ६

कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राऊ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिम सहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा गयराति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु १ ह १५७ नंको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button