पर्यटक लुटपाटको आरोपमा हुम्लामा ७ जना पक्राउ
१९ असार, सिमकोट – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्माले आफूमाथि लुटपाट गरेको उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गरेका प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए ।
सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ । इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए । उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।