मुख्य समाचारसमाज

काठमाण्डौ उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु

साउन २२, काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाण्डौ उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाण्डौ महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक स्वयम्सेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले नो हर्न अभियानलाई काठमाण्डौमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले नो हर्न अभियान पहिलेदेखि सञ्चालन गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो । मेयर साहले गाडीबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको बताउनु भयो । उहाँले गाडी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो ।

काठमाण्डौ महानगरपालिकाले २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button