मुख्य समाचारराजनीति

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला भोलिदेखि

चैत्र १६, काठमाडौँ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । भेलामा देशभरिबाट पार्टीका नेताहरू सहभागी हुने कार्यक्रम संयोजक धनकुमारी सुनारले बताइन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, भेलालाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुनारले जानकारी दिइन् ।

उनका अनुसार भेलाले समाजवादी सत्ता पतनको गम्भीर सिंहावलोकन गर्ने र आजको युगको प्रमुख उत्पादन शक्ति विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा निरुपण गर्दै नेपाली समाजको आधारभूत चरित्र र वर्गको नवीन विश्लेषण गर्ने छ । भेलामा विभिन्न सांस्कृतिक झाँकी तथा कविता वाचन कार्यक्रमसमेत रहेको छ ।

भेलामा तामाङहरूको झाँक्री नाच प्रस्तुत गरिनेछ भने हुड्के नाच, छलिया नाच, मिथिला नाच र अन्य सांस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् ।

त्यस्तै कवि विनोदविक्रम केसी, राजु स्याङ्तान, सुमिना र अस्मिता वादीले कविता वाचन गर्ने कार्यक्रम रहेको जात व्यवस्था उन्मूलन मोर्चाका सचिव महावीर विश्वकर्माले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button