‘वर्षभरि नपाइएको स्वतन्त्रता सरस्वती पूजाको दिन पाइन्थ्यो’
दिपक धमाला,
आज सरस्वती पूजा । आजको दिनलाई बसन्त पञ्चमी या श्रीपञ्चमी पनि भनिन्छ । विशेषगरी आज विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन्।
आजको दिन विषेशगरी साना बालबालिकाहरु निकै उत्साहित हुन्छन् । सरस्वती भग्वानलाई पुज्न सकियो भने पढाई राम्रो हुन्छ भनेर आमा बुबाले भनिरहनुहुथ्यो । जस्कारण त्यी भनाई सानैदेखि मनमा गडिएर बसेर नै होला, सरस्वती पुजा भन्न बित्तिकैनै राम्रो र प्यारो लाग्छ । मलाई सरस्वती पूजा भन्ने बित्तिकै बच्पनामा आजको दिन गरिएका रमाइला पलहरुका याद आउँछ । बिहानै उठेर नुहाएको, प्रसादका लागि घरमा हतार हतार मेवा झार्ने बेला म लडेको । गाउँमा कस्को घरमा उखु छ, मागेर काटिन्थ्यो । सरस्वती पूजाका लागि भने पछि जसको घरबाट जे फलफूल ल्याएपनि हुने । फूल जति टिपे पनि हुने । बर्षभरि नपाइएको स्वतन्त्रता सरस्वती पूजाको दिन पाइन्थ्यो । हामी यसकै फाइदा उठाएर केही धेरै फलफूल जम्मा गर्थ्यौं र पछिलाई भनेर बेग्लै लुकाउँथ्यौ । यसरी हतार हतार गरेर तयार पारेको फूलपाती बोकेर स्कुल गएको अनि नढाटी भन्ने हो भने पूजा कतिबेला सकिन्छ र प्रसाद कतिखेर खान पाइन्छ भनेर बुनियाँ तिर हेरेर बसेको खुब याद आउँछ ।
सरस्वती पूजाको चमकधमक नै बेग्लै हुन्थ्यो । सरकारी स्कुल भएकाले अरु बेला मोनिटर नभए पनि पूजाका लागि पैसा उठाउँनु पर्ने भएकोले त्यसबेला त मोनिटर अनिवार्य राखिन्थ्यो । मोनिटरले आफ्नो आफ्नो कक्षाबाट पैसा बटुल्थे । मोनिटर हुन पाउँनु भनेको कक्षाभरीका लागि ऊ प्रधानमन्त्री भन्दा ठुलो हुन्थ्यो। मोनिटर हुने बित्तिकै उसले ‘ओए पैसा ल्याइस्’ भनेर भेटे पछि सोध्ने गर्थ्यो । पैसा उठाउँने रे भनेको सुनेको दिन देखि घरमा कचकच सुरु गरिन्थ्यो । पहिले नै लगेर हराउला भनेर प्राय घरमा पूजाकै दिन लग्लास् भन्थे । तर साथीहरुको अगाडी सबैभन्दा पहिला पैसा दिनुको शानै बेग्लै हुन्थ्यो । जसकारण अरु साथीभाईले भन्दा पहिल्यै पैसा बुझाउन जहिल्यै पैसा चाहियो भनेर घरमा झगडै गरिन्थ्यो । हाम्रो घरमा मात्रै हैन, प्राय केटाकेटी भएको घरमा त्यस्तै हुन्थ्यो । जसोतसो सबैले पैसा लिएर आउँथे । तर त्यसरी उठाएको त्यती पैसाले कहाँ पुग्नु रु नौ दश कक्षामा पढ्ने दाईदिदीहरु बाटोमा डोरी टाँगेर, पसल पसल गएर चन्दा उठाउँथे । यो क्रम सरस्वती पूजाको हप्ता दश दिन अघिदेखि सुरु हुन्थ्यो ।
चन्दा उठाएसँगै हामी फुरुक्क फुरुक्क भएर सरस्वती पूजाको अघिल्लो दिन स्कुल सफा गरिन्थ्यो । चौर, कोठा सबै सफा गर्ने र सजाउँने जिम्मा हामी विद्यार्थी कै हुन्थ्यो । भुरा भन्ने बित्तिकै सँधै एउटै काम, मैले पनि ६/७ कक्षा सम्म चौरका कागज र प्लाष्टिक टिपेँ । ठुलाहरु बडो फुर्ति लगाउँदै स्कुलको छानो जस्ताको फोहोर सफा गर्थे । जस्ताको छानोमा चढ्नेहरु सानालाई अर्थात हामीलाई गन्दैनन्थे । छानाको जस्तामा चढेर हामी चौरका कागज, प्लाष्टिक टिप्दै गरेकालाई माथिबाटै थर्काउँथे । मलाई पनि स्कुल सफा गर्न ठुला दाईहरु जस्ताको छानामा चढेको देख्दा कहिले ठुलो भएर जस्ताको छानो सफा गर्न पाइएला झै लाग्थ्यो ।
पहिलो पटक सरस्वती पूजामा स्कुल सफा गर्ने क्रममा कक्षा आठमा पढ्दा स्कुलको छानामा चढ्न पाइयो । जुन बेला ठुलो सपना पुरा भए झै लागेको थियो ।त्यति बेला मैले पढ्ने स्कुलमा सरस्वतीको मन्दिर थिएन । हुन त अहिले पनि छैन । सायद स्कुलको आर्थिक अवस्था कमजोर भएर नै होला । नौ दश कक्षामा पढ्ने दाई दिदीहरुले अलिक चन्दा उठाउँन सके माटोले बनाएको सरस्वतीको मुर्ति पूजा गर्न पाइन्थ्यो । होइन भने कुनै किताबमा भएको सरस्वतीको फोटोमा पूजा गरिन्थ्यो । आफ्नै किताबमै भएको फोटो भएपनि पुजारीले अगाडी बसेर मन्त्र पढ्दै गरेको देख्दा साक्षात् सरस्वती त्यही फोटोमा भए झै लाग्थ्यो । ‘लौ सबैले हातमा फूल बोकेर आँखा चिम्लेर मन मनमा जाँचमा पास हौ भनेर सरस्वतीको पूजा गर’, सरले माइकबाट भन्नुहुन्थ्यो । हामी केटाकेटी फेरी सरले अब फूल फोटोमा चडाऔ नभनुञ्जेल आर्शिवाद मागेको माग्यै हुन्थ्यौं ।
सरस्वती पूजाको प्रसाद स्वरुप हामीले नै घरबाट ल्याएको फलफूल बाडिन्थ्यो । र, बिशेष भनेको बुनियाँ हुन्थ्यो । ठुला दाईदिदीहरुले बुनियाँ बनाएका हुन्थे । सबैसँग पाएको खाईवरी कतिखेर चिनेको मान्छेले बुनियाँ बाड्न ल्याउँछ र मागुम् भनेर ढुकेर बस्थ्यौं । कुनै बर्ष नाममात्रको बुँनिया र धेरै काचो मेवाहरु हात पर्थ्यो । आफुलाई थौरै परेकोमा भन्दा पनि साथीलाई धेरै परेको देख्दा भने एकछिन मन खल्लो हुन्थ्यो । आफ्नो भाग छिटो सकेर उसँग माग्दा बुनियाँ दिएन भने त केहि दिन बोलचालै बन्द हुन्थ्यो । प्रसादमा धेरै थोरै जति बुनियाँ पाएपनि हाम्रो लागि सरस्वती पूजाको महत्व घटेन । हरेक बर्ष उस्तै बिशेष लाग्थ्यो । र अहिले पनि सरस्वती पूजा भन्दा तिनै दिन, साथी र गुरुहरुको सम्झना झल्झली आउँछ ।
त्यी विगतका सरस्वती पूजाको स्मरण गर्दै पूनः विद्या, वुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ र मेरा समस्त गुरुहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।।।