समाज

निकुञ्जका तीन फरार अभियुक्त पक्राउ

चितवन –  चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन् । घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा रु २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ । विसं २०७४ जेठ १९ गते दायर मुद्दामा २०७६ असार ३० गते फैसला भएको थियो । मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो । त्यसैगरी कुमालद्वयलाई अवैधरुपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसला भएको थियो । विसं २०७३ असोज १९ गते दायर मुद्दामा २०७६ असार २६ गते फैसला भएको थियो । मुद्दाका सातजना अभियुक्तमध्ये चारजना फरार रहेका थिए । तीमध्ये दुईजना पक्राउ परेका हुन् । उनीहरुलाई कात्तिक १८ गते पक्राउ गरिएको हो । एक वर्षभन्दा कम सजाय हुने मुद्दा निकुञ्ज आफैँले पैसा गर्ने गर्दछ । पक्राउ परेकाहरुलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button