मुख्य समाचारराजनीति

चुनावको तयारी अन्तिम चरणमा ः स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

कात्तिक २९, काठमाण्डौ –निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरुलाई पुनः सचेत गराएको हो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो । उहाँका अनुसार विगतमा मौन अवधिका रुपमा मानिएको समयलाई यसपालि स्थिर समयको रुपमा प्रयोग गरिनेछ ।

त्यसअनुसार पर्सि मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध गरिएको छ । उहाँले कुनै पनि प्रकारको प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button