मुख्य समाचारराजनीति

स्थानीय तह निर्वाचनकाे कार्यतालिका बनाउँदै आयोग

काठमाडौँ – आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाउँदै छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ९० दिनको छोटो समयलाई आयोगले तीव्र रूपमा सदुपयोग गर्दै फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचनको तयारी गरिरहेको जानकारी दिए । ‘आयोगले ९० दिनको समयलाई सकेसम्म बढीभन्दा बढी प्रभावकारी बनाउँदै निर्वाचनको तयारीलाई गति दिनेछ, मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिकासम्मको विषयमा धमाधम काम भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने जानकारी दिए । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रमसम्म ल्याइनेछ ।

कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, निर्वाचन चिह्न प्रदान, निर्वाचन समयदेखि मतगणनासम्मको कार्यक्रम समावेश हुन्छ ।

यस्तै, आयोगले निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिसकेको छ भने संकलित नामावली अद्यावधिकको कामसमेत आयोगले सुरु गर्दै छ ।

आयोगले ७७ जिल्लामा संकलन भएको मतदाताहरूको नाममा देखिएका त्रुटि सच्याउने, उजुरीमाथि छानबिन गर्ने, दोहोरिएको नाम हटाउनेलगायतका काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय र पालिकाहरूमा दाबी, विरोध र उजुरीका लागि नामावली प्रकाशन हुनेछ । सो प्रक्रियापछि नामावलीमाथि छानबिन हुने र फेरि जिल्लाबाट आयोगमा आएपछि आयोगबाट अन्तिम नामावली प्रकाशित हुनेछ ।

सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट ३० वैशाखमा देशका ७ सय ५३ वटै स्थानीय तहमा एक साथ एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गरेको थियो । निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तह छन् । ती स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छ । स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् । आयोगले आगामी स्थानीय तह निर्वाचनमा करिब १ करोड ७२ लाख मतदाता कायम हुने अनुमान गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button