मुख्य समाचार

एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गर्नुभएको छ । आज आफैंले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति आक्रोश पोख्नुभएको हो ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, ‘एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलहरुको साझा धारणा रह्यो ।’केही दलले एमसीसी सम्झौताको आलोचना गरेपनि संसदले विजनेस रोक्न नमिल्ने भनेको भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पु¥याउनुपर्छ भन्ने भएको छ ।’

सरकारका कारण नभई संसदको नेतृत्वका कारण महत्वपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधान विपरित पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उहाँले भन्नुभयो, ‘सरकारका कारण होइन, संसदको नेतृत्वका कारण कतिपय विजनेस अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताउनु भएको छ ।

यस्तै ओलीले कोरोना भाइरस संक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभएको हो ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेस गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button