मुख्य समाचारविश्व

सैनिक शासनविरुद्ध म्यानमारमा बृहत प्रदर्शनः गोली चल्दा तीनको मृत्यु

१६ फागुन, एजेन्सी । म्यानमारमा जारी प्रदर्शन दबाउन सेनाले गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते छन् । सेनाले कू गरेपछि नै म्यानमारमा लगातार जनप्रदर्शन हुँदैआएको छ ।

पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै गएपछि सेनाले प्रदर्शन दबाउन थालेको छ । यसअघि पनि गत साता सेनाको गोली लागेर २ जना प्रदर्शनकारी मारिएका थिए ।

नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदैआएको छ । म्यानमारको ठूला सहर रंगुन सहित विभिन्न सहरमा हरेक दिन विशाल जनप्रदर्शन भएका छन् । जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ ।

प्रदर्शनकारीहरुमाथि सेना र प्रहरीले व्यापक रुपमा रबरका गोली प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेका छन् । जसले गर्दा केही प्रदर्शनकारीहरु गम्भीर घाइते बनेको स्थानीय मिडियाले जनाए । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

सू ची सहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन । स्थानीय मिडियाका अनुसार यहाँको सेनाले पक्राउ परेका नेताहरुलाई थप मुद्दा लगाउँदै नियन्त्रण अवधि लम्ब्याइरहेको छ ।

सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् । चौतर्फी विरोधका बावजुद म्यानमारको सेना वार्ता वा सत्ता हस्तान्तरणमा लागि लचिलो देखिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button