मुख्य समाचारराजनीति

विभाजित नेकपाद्वारा पार्टी कार्यालयहरूमा स्वामित्व दाबी गर्ने होडबाजी, आपसमै झडप

पार्टी गतिविधिलाई व्यवस्थित सञ्चालन गर्ने विगतको परिपाटी तोडियो

प्रतिनिधिसभा विघटनपछिनेकपाका दुई समूहबीच केन्द्रमा बहुमत देखाउने कसरत भइरहँदा प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी कार्यालय कब्जा र तालाबन्दी बढेको छ । प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबीच कार्यालयहरूमा स्वामित्व दाबी गर्ने होडबाजी नै चलेको छ ।

खासगरी, ६ पुसपछि पार्टी कार्यालय कब्जाको लहर चलेको हो । पार्टी कार्यालय कब्जा र तालाबन्दीका क्रममा कञ्चनपुरमा ओली समूहले लगाएको ताला प्रचण्ड-नेपाल समूहले तोडेको छ । त्यस्तै कैलालीस्थित नेकपा प्रदेश, जिल्ला र नगर कमिटीहरूका कार्यालयमा दुवै पक्षले ताला लगाएका छन् । अत्तरियास्थित गोदावरी नगर कमिटी कार्यालयमा प्रचण्ड–नेपाल समूहले दुई दिनअघि ताला लगाएको थियो । केहीबेरमै ओली पक्षले तोडेर छुट्टै ताला लगाएको छ । यसैगरी धनगढीस्थित नेकपा जिल्ला कार्यालयमा प्रचण्ड–नेपाल समूहले सधैँ लगाउने तालामाथि अर्को ताला पनि झुन्ड्याएको छ । धनगढीमै रहेको नेकपा प्रदेश कार्यालयमा पनि प्रचण्ड–नेपाल समूहले ताला लगाएको छ ।

यसैगरी हेटौँडामा पार्टी कार्यालयमा भेला आयोजना गर्दा ओली समूहले बिथोल्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले आइतबार पार्टी प्यालेसमा जिल्ला भेला गरेको छ । यसैगरी नेकपा सिराहा जिल्ला कार्यालय प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको नियन्त्रणमा छ । सदरमुकाम सिराहास्थित कार्यालय आफूहरूको नियन्त्रणमा रहेको प्रदेश- २ का सांसद तथा नेकपा जिल्ला सचिव प्रमोदकुमार यादवले बताए । अहिले पार्टी कार्यालय बन्द छ । अर्को पक्षले दाबी गर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै गत बिहीबार बिहान ओली र प्रचण्ड–नेपाल पक्षबीच नुवाकोट सदरमुकाम विदुरस्थित पार्टी कार्यालयमा ताला फोडाफोड भयो । ओली पक्षले कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको थियो । तर, प्रचण्ड-नेपाल समूहले चाबी दिएन । त्यसपछि ओली समूह ताला फोडेर कार्यालयमा प्रवेश गरेको थियो  ।

यता ओखलढुंगामा पनि नेकपा पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् । शनिबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले नियमित लगाउनेभन्दा फरक ताला झुन्ड्याएपछि आइतबार बिहान ओली समूहले त्यसमाथि अर्को ताला लगाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button