प्रदेश ६

खिमलाल भट्टराई द्वारा स्थलगत अनुगमन

रुपन्देही /  राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको आज स्थलगत अनुगमन गर्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सडकको कालोपत्रको काम गुणस्तरिय गर्न स्थानीयले घच्घचाइरहनुपर्नेमा जोड दिँदै सडक कालोपत्रका लागि बजेटको अभाव नहुने स्थानीयलाई आश्वासन दिनुभएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका दुर्गम क्षेत्र पनि शहरउन्मुख हुन लागेको उल्लेख गर्दै सडकका कारण नगरपालिकाको सौन्दर्य बढ्दै गएको बताउनुभयो । गत आर्थिक वर्षमा रु एक करोडको लागतमा ८५० मिटर सडक कालोपत्र भएकामा यस आर्थिक वर्षमा रु एक करोड २५ लाखको लागतमा एक हजार १०० मिटर सडक कालोपत्र हुन लागेको छ । बक्सड गाउँका बीचमा करिब ५०० मिटर नालासमेत निर्माण भइरहेको नगरपालिकाको वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटाले जानकारी दिनुभयो । प्रमुख सचेतक भट्टराईको पहलमा सो सडक कालोपत्र भएको हो । सडकको अवस्था जीर्ण हुँदा मुख्य राजमार्गसम्म आउनका लागि स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट सो रकम निकासा भएको बताइएको छ । करिब साढे पाँच किलोमिटर सडक कालोपत्र गर्न कूल लागत करिब रु नौ करोड अनुमान गरिएको छ । गत असोजदेखि शुरु गरिएको सडक कालोपत्रको काम आगामी वैशाखको अन्त्यसम्ममा सक्ने लक्ष्य लिइएको छ । सडक कालोपत्र गर्दै बुद्धनगर जोडिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button