विशेष

राष्ट्रिय झण्डा बिश्वमैं बिशिष्ठ

जुन इतिहासले हामीलाई आफ्नो पहिचान दिलाए जस्को कारण हामी आज अस्तित्वमा छौं,त्यो मेट्नु तयार छौ।

राष्ट्रिय झण्डाले देशको पहिचान बोकेको हुन्छ। देशको कल्पना गरिँदा राष्ट्रिय झण्डा बिनाको देशको कल्पना गरिंदैन त्यसैले त कुनै न कुनै रुपमा राष्ट्रियझण्डाले त्यस देशको पहिचान र विशिष्टता बोकेको हुन्छ। शताव्दीऔं देखि नेपाली पहिचान र विशिष्टता बोकेको हाम्रो राष्ट्रिय झण्डा यतिखेर आक्रमणको तारो बनेको छ। आज हाम्रो राष्ट्रियझण्डा नेपालको स्वतन्त्रता र मौलिक पहिचान मेट्न खोज्ने त्यस्ता व्यक्तिहरुका तारो बनेको छ, जसलाई न आफ्नो इतिहासको माया छ, न आफू जन्मेको देशसँग कुनै लगाव नै छ। संसारमै त्यस्ता व्यक्ति पाउन असम्भव नै होला जो आफ्नो इतिहास बिर्सेर पनि महान् भएका होस वा त्यस्तो देश नै होला जुन देशमा पूर्खाको योगदान बिना नै उन्नति र प्रगति भएका होस्। वास्तवमा इतिहास र परम्परा बिर्सेर कोही पनि महान भएका छैनन्, न त प्रगति नै गर्न सकेका छन्। चीन, जापान, भारत आफ्नो गौरवशाली इतिहास र पूर्खाकै योगदानको जगमा उभिएर आज विश्व सामु स्वाभिमान पूर्वक उभिएर रहेकाछन्। देशको अस्तित्व रक्षा गर्ने पूर्खाको योगदान बिर्सनेहरुले सन्ततिको लागि देश जोगाई देला भनेर कसरी विश्वास गर्ने?

इतिहासमै सबभन्दा संवेदनशील समयमा हामी छौं। राष्ट्रियता यति कमजोर कहिल्यै थिएन जति आज छ। पुरानो नेपालको अस्तित्व समाप्त भइसकेको छ भने हामीले चाहेको जस्तो नयाँ नेपाल अझै क्षितिज पारी उदाउन बाँकी नै छ। पुरानो नेपालका सबै कुरा नकार्ने हाम्रा क्रियाकलापले कहीँ हाम्रो पहिचानमा समेत संकट आउने त होइन भन्ने मनन गर्न आवश्यक भइसकेको छ। परम्परा र इतिहासका सबै कुरा नराम्रा हुन्नन्। युगले आफैं त्यस्ता कुरालाई परिवर्तन गर्दै जान्छ। तर कुनै कुरा यस्ता हुन्छन् जसले देशको अस्तित्व बोकेको हुन्छ, जसमा जनताको आस्था टिकेको हुन्छ। परिवर्तनको नाममा नेपाली मन भित्र आस्था जमाई सकेका इतिहासका त्यस्ता धरोहरलाई परिवर्तन गर्दै जाने हो भने हामीले आफ्नो इतिहास खोज्न अमेरिका र बेलायतका म्यूजियममा धाउनु पर्ने हुन्छ।

दुई त्रिकोणबाट बनेको विशिष्ट स्वरुपको यो झण्डाको आकारप्रकार विश्वकै मानिसहरुका लागि कौतुहलको विषय हो। उनीहरु यो झण्डाको विशेष आकारले गर्दा नेपालकोबारे जान्न उत्सुक देखिन्छन्। संसारमा यो स्वरुपको झण्डा यही एउटा मात्र हो। यो झण्डा इतिहासको त्यो कालखण्डमा अस्तित्वमा आएको देखिन्छ, जुन बेला नेपाल समृद्ध मुलुकको रुपमा थियो। इतिहासकार सिल्भाँ लेभीको नेपाल अधिराज्यको इतिहास पढ्दा पनि थाहा हुन्छ, त्यतिबेलाको मल्लकालीन नेपाल यूरोपको कुनै पनि विकसित देशभन्दा कम थिएन। झण्डाको स्वरुपले कुनै धर्मको कुनै चिन्हसँग समानता राखेकै भरमा मात्रै यसलाई परिवर्तन गर्नु मनासिब देखिँदैन। चन्द्र र सूर्य अङ्कित झण्डाले नेपाल त्यसबेला सम्म अस्तित्वमा रहन्छ जबसम्मन चन्द्र र सूर्यको अस्तित्व रहिरहन्छ भनेर हामीले विद्यालयमा पढेका छौं। चन्द्र र सूर्यले चन्द्रवंशी र सूर्यवंशीराजाहरु मात्र जनाउँछ भन्ने होइन। स्वतन्त्रताको यति व्यापक अर्थ बोक्ने चन्द्र र सूर्यालाई धार्मिक मान्यतामात्र दिनु उचित होइन।

चारदिशामा चारतिर फर्केका सिंह भारतको राष्ट्रिय चिन्ह हो, जुन सम्राट अशोकको राजकीय चिन्ह थियो, भारत स्वतन्त्र भएपछि धर्मनिरपेक्ष र संघीयताको घोषणा सँगै यसलाई राष्ट्रिय चिन्हको रुपमा चयन गरिएको थियो। सम्राट अशोक जसले भारतलाई एक महान साम्राज्यको रुपमा स्थापित गरे, लडाईबाट वाक्क भएर वौद्ध धर्म अपनाइसकेपछि संसारमा शान्ति र करुणाको सन्देश छर्न आफ्ना सारथीहरुलाई भिन्न भिन्न देशमा धर्म प्रचारको लागि पठाए, तिनै सम्राटको राजकीय चिन्हलाई भारतले ससम्मान आफ्नो राष्ट्रिय चिन्हको रुपमा स्वीकार गरी विगतको आफ्नो गौरवशाली इतिहासलाई सम्मान गरेको थियो। अशोककालीन भारत भारतीय इतिहासको स्वर्णयुग थियो भनेर अहिले पनि इतिहासकारहरु भन्छन्।

हामी भने आफ्नो त्यो गौरवशाली इतिहास मेट्न तयार भएकाछौं, जुन इतिहासले हामीलाई आफ्नो पहिचान दिलाए जस्को कारण हामी आज अस्तित्वमा छौं। सबै कुरा भत्काएपछि नयाँ निर्माण हुन्छ भन्ने सोचमा दिक्षितहरुले के थाहा पाउनु जरुरी छ भने कुनै चिज यस्तो हुन्छ जुन भत्काए, बिगारे फेरि नयाँ बनाउन सकिंदैन। त्यो सधैको लागि नासिएर जान्छ र त्यसलाई कुनै किसिमबाट पनि पुर्नजीवित तुल्याउन सकिंदैन। इतिहास र विशिष्टता बोकेको झण्डालाई फगत परिवर्तनको नाममा परिवर्तन गर्न खोज्ने हो भने यस्तै अपरिवर्तनीय र अकल्पनीय भविष्य बोक्नुपर्ने हुन्छ, हामीले। भनिन्छ नि बाँदरले आफ्नो घरपनि बनाउँदैन र बनेको घर पनि भत्काउँछ। अनि बाँदरले खेती पनि गर्दैन र अरुको खेतीपाती मात्रै बिर्गादछ भनेर (डा.कविताराम श्रेष्ठः बाँदरले खेती गर्दैन)। हुनसक्छ, भविष्य कसले देखेको छ र? जुन दिन यसको अस्तित्व समाप्त हुन्छ, नेपालको अस्तित्व पनि त्यसै दिन समाप्त भएर जान सक्छ, तराई हिमाल, पहाड भित्रका असंख्य हामी भित्रको विश्वास र आस्था चकनाचूर भएपछि। त्यति बेला जति बेला हामीलाई होस् आउँदछ त्यसबेला निकै ढिलो भइसकेको हुनेछ।

परिवर्तन गर्नै हुन्न भन्ने होइन। वर्तमान सँग सापेक्षरुपमा परिवर्तन भने हुनु पर्दछ। यो नै विकासवादको सिद्धान्त पनि हो। तर इतिहासमा स्थापित मूल्य र मान्यतालाई परिवर्तन गर्दा भने इतिहासको सम्मान हुनै पर्दछ। राष्ट्रिय गान परिवर्तन गरिनु समयको माग थियो। व्यक्ति विशेषको स्तुति राष्ट्रिय गान हुनै सक्तैन थियो। नयाँ राष्ट्रिय गानको चयन गरियो थुप्रै सर्जकहरुका सिर्जनाबाट। जुन गीतको चयन गरियो त्यो गीत वास्तव मै उत्कृष्ट छ र हरेक नेपाली हृदयमा यसले सजिलै बास गरेको छ। जनजिब्रोमा रसिलो भइ झुण्डिएको छ यो गीत सुन्दा हरेक नेपाली आफूलाई गौरवशाली अनुभव हुन्छ। अझ गर्वलाग्छ हामी प्रत्येक नेपालीलाई, ओलम्पिकमा समेत यस गीतलाई सम्मानित गरिएकोमा। राष्ट्रिय जनावर गाई परिवर्तन गर्नु समय सापेक्ष भइसकेको भने निश्चय नै हो। कुनै खास पहिचान नबोकेको, साधारण रुपमा संसारभरी जहीतही पाइने , पश्चिमी विश्वमा खाद्यवस्तुको रुपमा प्रयोग गरिने जनावरलाई हामीले राष्ट्रियजनावरको दर्जादिइराख्नु उपयुक्त पनि होइन। यसको विकल्पमा एकसिंगे गैडाको चयन गर्नु उपयुक्त नै मान्नुपर्छ। तर श्रीपेचयुक्त निसान छाप परिवर्तन गर्दा कलाकारहरुलाई प्रतिस्पर्धाको आधारमा छनौट गरिएको भए स्तरीय निसान छाप बन्नेथियो। थुप्रै लालिगुराँशका फूललाई दुईतर्फि घेरामा प्रयोग गरिएबाट यो निसानछापलाई अनार्कषक बनाएको छ।

Related Articles

Back to top button