विशेष

सिद्धिदाता श्री गणेश, हिन्दु धर्ममा मात्र नभई बौद्ध धर्ममा पनि गणेशको विशेष स्थान

काठमाडौं : हिन्दु धर्ममा प्रथप पुज्य श्री गणेशको ठूलो महिमा छ । हिन्दु धर्ममा मात्र नभई, बौद्ध धर्ममा पनि गणेशको विशेष स्थान रहेको पाइन्छ ।

बौद्ध धर्मको वज्रयान साधकहरूले गणेशलाई आफ्नो साधनाको सिद्धिका लागि प्रमुख देवता मान्छन् । नेपालका अधिकांश मध्यकालीन बौद्ध विहारहरूको मूल ढोकाभित्र दायाँबायाँ भागमा क्रमशः गणेश र महाकालका मूर्तिहरू पाइन्छन् । पाँचटाउके गणेशलाई हेरम्ब गणेशका रूपमा बौद्ध धर्मको वज्रयान साधकहरूले मान्यता दिई पूजाआजा गर्ने चलन नेपाली बौद्ध समाजमा छ ।

विद्वान्हरूले गणपति शब्दको वर्णन गर्दै भनेअनुसार ‘ग’ को अर्थ हो, गमन अर्थात् ज्ञानको मार्गमा जानु । अनि ‘ण’ को अर्थ गन्तव्यमा पुग्नु । अर्को शब्दमा ‘ग’ र ‘ण’ को अर्थ हो– आदिबाट अन्त्यमा पुग्नु । ‘पति’ को अर्थ हो– मालिक । यसप्रकार गणपतिको अर्थ आदि र अन्त्य दुवैको मालिक हुन आउँछ ।

गणेशलाई सफलताका देवता या सिद्धिदाता भनिन्छ । गणेशको प्रार्थनाद्वारा देवताहरूका राजा इन्द्र, राजा नलकी महारानी यमयन्ती र युघिष्ठिर आदिले सफलता प्राप्त गरेका कथा प्रख्यात छन् ।

मुसा वाहन भएका गणेशको स्वरूप चार हात, ठूलो पेट, छोटो कदको सुदृढ शरीर, हात्तीको टाउकोका साथै एउटा पूर्ण र अर्को भाँचिएको दाँत छ । गणेशले परशुरामसँगको लडाइँमा एउटा दाँत गुमाउनुभएको हो भन्ने विश्वास गरिन्छ । बन्चरो लिएका परशुराम विष्णुका अवतार मानिन्छन् भने अर्को भनाइअनुसार– गणेशजीले आफ्नो दाँत महर्षि व्यासको निर्देशनमा महाभारत लेख्न भाँचेका हुन् भन्ने पनि छ । गणेशजीको ‘हात्तीटाउको’ लाई बुद्धिको प्रतीक र उहाँको वाहनलाई त प्रत्युत्पन्नमतिको प्रतीक मानिन्छ ।

Related Articles

Back to top button