शिक्षा

आज विश्व शिक्षक दिवस, नेपालको शिक्षक आन्दोलन भने अधिकार प्राप्तीकै लडाईंमा

काठमाण्डौ– आज २४ औं विश्व शिक्षक दिवस । संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ (युनेस्को) को आह्वानमा हरेक वर्षको अक्टोवर ५ मा मनाइने शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालमै पनि यो दिवस मनाइने गरे पनि दिवस बारेमा स्वयम् शिक्षकहरु भने अनविज्ञ भेटिएका छन् ।

शिक्षकहरुले अरु विभिन्न दिवसहरुको ख्याल गरे पनि आफ्नै पेशासँग सम्बन्धित दिवसबारेमा भने ख्याल गर्ने गरेका छैनन् ।

युनेस्कोले यो वर्ष ‘शिक्षकहरुको लागि आह्वानः गुणस्तरीय शिक्षामा शिक्षकहरुको नेतृत्व प्रदान’ भन्ने नारा तय गरेपनि केही व्यक्तिहरुलाई बाहेक धेरैलाई दिवसबारेमा थाहा छैन ।

‘कति शिक्षकहरुलाई विश्व शिक्षक दिवसको बारेमा थाहा छैन, उनीहरुलाई नेपालको शिक्षक दिवसबारेमा भने थाहा छ ।’

प्राय: शिक्षक होस् या अन्य कर्मचारी, बिदा पाइने दिवसको बारेमा मात्र ख्याल गर्ने प्रवृत्ति हुँदा शिक्षक दिवसको बारेमा त्यति चासो नरहेको स्वयं शिक्षक बताउँछन् ।

शिक्षकले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै मनाउने दिवस नेपालमा भने ओझेलमा पर्ने गरेको छ । कुनै संघ, संगठन, युनियनमा आवद्ध नभएका शिक्षकलाई मात्र नभएर संघसंगठनमा आवद्ध शिक्षकले पनि त्यस्तो अनुभव गरेका छन् ।

नेपालका शिक्षकहरुको साझा संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौला दिवसबारेमा देशका अधिकांश शिक्षकलाई थाहा नभएको बताउँछन् । त्यसको कारणमा उनी भन्छन्, ‘एउटा त यो दिवस प्राय: दशैंतिर पर्ने हुन्छ, विद्यालय बन्द हुन्छ, त्यही भएर थाहा हुन्न, अर्को सबै शिक्षक संगठनमा आवद्ध छैनन् ।’

उनले संगठनमा आवद्ध भएका शिक्षकलाई शिक्षक दिवसबारेमा जानकारी भएको दाबी गर्दै भने, ‘सांगठनिक चेतना भएकालाई यो दिवसबारेमा चेतना छ, अरुलाई थाहा छैन ।’

उनले शिक्षक दिवसलाई विद्यालयसम्म पुर्याउन अझै पनि नसकेको स्वीकारे । उनले मात्र नभएर सार्क टिचर फेडेरेशनका अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले पनि अध्यक्ष निरौलाकै भनाइ दोहो¥याए ।

उनले शिक्षक दिवसलाई अभियानकै रुपमा मनाउने तयारी भए पनि चाडवाडले असर पुर्याएको पनि बताए ।

अहिले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरुमा गरी करीब साढे तीन लाख शिक्षक छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दी छन् ।

विश्वभर शिक्षक दिवस मनाइरहँदा नेपालका शिक्षकहरु भने अझ पनि आफ्नो हक र अधिकारको लागि लडिरहन बाध्य भएको शिक्षक नेताहरुको भनाइ छ । अध्यक्षद्वय निरौला र थापाले विकसित देशका शिक्षकहरुको हक अधिकार सुनिश्चित भएको अवस्थामा नेपालका शिक्षकहरु भने पाएको हक समेत गुमाउनु पर्ने अवस्थामा रहेको बताउँछन् ।

Related Articles

Back to top button