राजनीति

राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ महासभाको ७५औं सत्रमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् । बिहीबारदेखि न्युयोर्कमा सुरु भएको महासभालाई प्रधानमन्त्री ओलीले असोज ९ गते भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले असोज ५ गते राष्ट्रसंघको ७५औं वार्षिकोत्सव अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले शुक्रबार सुरु हुने दिगो विकास लक्ष्यसम्बन्धी कार्यक्रम तथा असोज १४ गते जैविक विविधतासम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज १६ गते आणविक अस्त्र उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले कम विकसित र भूपरिवेष्ठित कम विकसित मुलुकको बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेपालले महासभाको साइडलाइन बैठकअन्तर्गत असोज ८ गते सार्क मन्त्रिपरिषद् बैठक आयोजना गर्दै छ । विगतको परम्परालाई निरन्तरता दिँदै अध्यक्ष मुलुकका हिसाबले नेपालले उक्त बैठकको आयोजना गर्न लागेको हो । प्रधानमन्त्रीले नेतृत्व गर्ने प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री सहित उच्चस्तरीय सरकारी अधिकारी रहने जनाइएको छ ।

Related Articles

Back to top button