समाज

पुजारी हत्यामा संलग्न दूईजना पक्राऊ

रौतहट– रौतहटका पुजारी श्रीराम साहको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रौतहटकै देवानी गौनाही नगरपालिका– १ का रामनरेश राउत पटेल र बालकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो । पैसा लेनदेन र अन्य विवादमा पुजारीको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रामनरेशले गोली हानेका थिए भने बालकुमारले निगरानी गरेका थिए । गत ३ भदौमा पुजारीको गोली हानी हत्या भएको थियो । रामनरेशको बुबाले पुजारीसँग ब्याज पैसा लिएको त्यो तिर्ने विषयलाई लिएर विवाद भएको थियो ।

मन्दिरछेउको रक्सी पसलमा रक्सी पिई मन्दिरनजिकै धारामा आएर खुट्टा धोएको विषयमा समेत रामनरेश र पुजारीबीच विवाद देखिएको प्रहरीले जनाएको छ । समाजमा हुने अन्य विषयलाई लिएरसमेत उनीहरूबीच पटकपटक विवाद हुने गरेको र त्यसैको रिसमा हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतले १० दिन थुनामा राख्न म्याद दिएको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरी आशंका छ ।

Related Articles

Back to top button