चुनाव आउन अब ४ दिन मात्रै बाँकी,, दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने

कात्तिक ३०, काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने छन् । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन ।
दल तथा उम्मेदवारले गएको १७ गतेदेखि चुनाव प्रचार सुरु गरेका थिए । निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले भोलि बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइने छैन ।
निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उहाँको आग्रह छ ।