सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने प्रधानमन्त्री देउवाको भनाई,, गैर–सरकारी सङ्घसंस्थालाई उत्तरदायी बनाउनु पर्नेमा जोड

असोज ६, काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
समाज कल्याण परिषद्ले ४३औँ सामाजिक सेवा दिवसको अवसरमा काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले नेपाल जस्तो विकासोन्मुख देशमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको हो ।
सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने तथा उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिने उहाँको भनाइ छ । उहाँले गैर–सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताउनु भयो ।
२०३४ साल असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसरमा सामाजिक सेवा दिवस मनाइन्छ । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले यो परिषद्को स्थापना भएको थियो।