नुवाकोटमा सम्बन्ध विच्छेदका मुद्दा दर्तामा वृद्धि

अप्सरा बोहरा
काठमाण्डौ, भदौ १ – नुवाकोटमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ ।
आर्थिक वर्ष ०७८÷७९ मा नुवाकोट जिल्ला अदालतमा सम्बन्ध विच्छेदका २८९ थान मुद्दा दर्ता भएका छन् ।
सम्बन्ध विच्छेदका २८९ मुद्दा मध्ये अदालतले सोहि वर्ष २०५ सम्बन्ध विच्छेदका मुद्दा फछ्यौट गरेको र ८४ थान मुद्दा फछ्यौट हुन बाँकी भई चालु आर्थिक बर्ष ०७९÷०८० मा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७७÷०७८ मा १७४ थान मुद्दा दर्ता भएकोमा १५५ थान मुद्दा फैसला भएको थियो । ०७७÷७८ को तुलनामा ०७८÷७९ मा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ ।
महिलाहरु काम गर्न घरबाट बाहिरा निस्किएको अवस्थालाई शंका उपशंका गराई समाजमा मिल्न सक्ने अवस्था नदेखिने, नयाँ मुलुकी ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दिन सक्ने बाटो खुलाइदिएको कारण ,सामाजिक र आर्थिक कारण अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी आउने गरेको उहाँले बताउनु भयो । वैदेशिक रोजगारीका कारण समाजमा पर्न आउने विकृति, अनलाइन÷इन्टरनेटको दुरुपयोग, जस्ता कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको उहाँको तर्क छ ।