अर्थ बजारप्रदेश ७

आधारभूत आवश्यकता उपेक्षा, पार्टी कार्यालय र मन्दिरलाई बजेटको ‌ओइरो

सुदूरपश्चिम प्रदेश सरकारले ३१ वटा पार्टी कार्यालय भवन निर्माणमा ५ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । आगामी वर्ष विनियोजित बजेटसमेत जोड्दा १० करोड ८२ लाख रुपैयाँ पुग्छ ।

एमालेलाई मदन–आश्रित र मनमोहन भवन तथा प्रतिष्ठान, माओवादी केन्द्रलाई सहिद स्मृति भवन तथा प्रतिष्ठान, एकीकृत समाजवादीलाई पुष्पलाल स्मृति भवन तथा प्रतिष्ठान र नेपाली कांग्रेसलाई बीपी र गणेशमान स्मृति भवन तथा केन्द्रका नामबाट बजेट दिइएको हो ।

प्रदेश सरकारले पार्टी कार्यालयका लागि गएको चार वर्षमा ३४ पटक रकम विनियोजन गरेको छ । पार्टी कार्यालय निर्माणमा सबैभन्दा बढी एमालेलाई २ करोड ९५ लाख, एकीकृत समाजवादीलाई १ करोड ३५ लाख, माओवादी केन्द्रलाई १ करोड २ लाख र कांग्रेसलाई ६० लाख बाँडिएको छ । आगामी वर्षको बजेटमा भने एकीकृत समाजवादीको कार्यालय निर्माणमा २ करोड ७० लाख, माओवादी केन्द्रलाई १ करोड १५ लाख, एमालेलाई ७० लाख र कांग्रेसका कार्यालय भवनका लागि ३५ लाख विनियोजन गरिएको छ । तर, प्रदेश सरकार भने पार्टी कार्यालय नभई प्रतिष्ठानमा बजेट विनियोजन भएकाले यसलाई स्वभाविक रूपमा लिनुपर्ने प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल बताउनुहुन्छ ।

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि मन्दिरमा मात्रै २२ करोड बढी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १५ करोड र २०७८/७९ मा करिब १७ करोड रुपैया समुदाय विशेषका मन्दिर निर्माण गर्न खर्च गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि मन्दिर निर्माण गर्न २२ करोडभन्दा बढी बजेट छुट्याएको हो । सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट ९ जिल्लाका विभिन्न स्थानमा २ सय ८३ वटा मन्दिर निर्माण गरिने वार्षिक विकास कार्यक्रममा समेटेको छ ।

प्रदेश सरकारले मन्दिरका लागि सबैभन्दा बढी बजेट ३ करोड ९४ लाख रूपैयाँ बैतडीका लागि छ भने सबैभन्दा कम ९० लाख रुपैयाँ बाजुराका लागि विनियोजन गरेको छ । मन्दिरमा लगानी बढाएको भन्दै वर्षेनी विरोध र आलोचना भए पनि मन्त्री रावल भने जनताको माग अनुसारनै मन्दिरमा बजेट बिनियोजन गरेको दाबी गर्नुहुन्छ । मन्त्रीले दाबी गरे पनि नागरिकका आधारभूत आवश्यकताका विषय उपेक्षामा परेको विषय भने नकार्न सकिदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button