लमजुङमा एक वर्षमा ३८ जनाले गरे आत्महत्या
अप्सरा बोहरा
लमजुङ, साउन १२ – लमजुङमा एक वर्षमा ३८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक अनुसार पुरुष २३, महिला १०, १ जना बालक र बालिका ४ जना गरी ३८ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी जगदीश रेग्मीले बताउनु भएको छ ।
४६ देखि ६० वर्ष उमेर समुहकाले बढी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १३ वर्षकी बालिकादेखि ६८ वर्षका पुरुष समेत रहेका छन् ।
आत्महत्याका कारण अशिक्षा, गरिबी, डिप्रेसन, पारिवारिक विचलन, दीर्घरोगी लगायतका कारण रहेको प्रहरी निरीक्षक तथा सुचना अधिकारी रेग्मीले बताउनु भयो ।
त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ३५ जनाले आत्महत्या गरेका थिए । जसमध्ये पुरुष १८, महिला १४, २ जना बालक र १ जना बालिका रहेका थिए ।
आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा २०७८÷०७९ मा आत्महत्या गर्नेको संख्या बढेको देखिएकाले यसको न्युनिकरणमा समुदाय स्तरदेखि विद्यालय लगायतका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने , जुनसुकै खालका मदिराहरुलाई पनि नियन्त्रण गर्ने, सेवनको मात्रालाई घटाउने प्रयास गर्ने गरिएमा आत्महत्या गर्नेको संख्यामा कमी आउन सक्ने प्रहरीले जनाएको छ ।