प्रदेश ४मुख्य समाचारसमाज

लमजुङमा ९० प्रतिशतको रोपाइँ सम्पन्न

अप्सरा बोहरा,

९ श्रावण लमजुङ । यस वर्ष लमजुङमा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मदन रेग्मीका अनुसार साउन ९ सम्ममा लमजुङमा ९० प्रतिशत रोपाइँ सकिएको छ ।

मनसुन छिटै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष जिल्लामा रोपाइँ चाडै सुरु भएको थियो । गत वर्षको तुलनामा शुरुशुरुमा रोपाइँ बृद्धिदर बढी भएपनि असारको अन्तिम तिर आएर केहि कम भएकोमा फेरि केहि दिन अघि परेको लगातरको वर्षाले रोपाइँ भएको रेग्मीले बताए ।

गत वर्ष पनि यहि समयमा ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको थियो । लमजुङका आठ पालिका मध्ये सबैभन्दा बढी मध्यनेपाल नगरपालिकामा रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ६१ हजार ८ सय १९ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये ४५ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । चैते धान पनि रोपाइँ हुने जिल्लामा यस वर्ष ७ सय ६० हेक्टरको हाराहारीमा रोपाइँ भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका ठुला फाँटहरु राइनासटार, धमिलिकुँवा, रामचोकबेसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, सुन्दरबजार, परेवाडाँडा, सत्रसय, सोतिपसल, करापुटार, कल्याणबेशी लगायत स्थानमा रोपाइँ भएको छ ।

यहाँ किसानले राम धान ,सुनौलो सुगन्ध, सुक्खा २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ , गोरखनाथ, युएस ३२१ ,मकवानपुर, लगायतको हाइब्रिड जातको धानहरु लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा पछिल्लो समय स्थानीय जातका धानका बिउ भन्दा पनि हाइब्रिड जातका बिउप्रति कृषकहरुको आकर्षण बढ्दो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button