मर्स्याङ्दी करिडोर अन्तर्गत उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको काम सुस्त, जेठमा नै निर्माण सकिनु पर्नेमा अझै ४० प्रतिशत काम बाँकी
असार ३२, लमजुङ -लमजुङमा मर्स्याङ्दी करिडोर अन्तर्गत बन्दै गरेको २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुस्त देखिएको छ ।
जेठमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै आयोजना निर्माणको काम अगाडि बढेको हो । अझै ४० प्रतिशत काम बाँकी छ । विभिन्न प्राविधिक कारणले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका उदिपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले बताउनुभयो ।
७६ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्याउन १ सय ९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ । यीमध्ये अहिलेसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताउनुभयो ।
त्यो टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदिपुरदेखि मध्मर्स्याङ्दी र एउटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सबस्टेशन पनि निर्माण भइरहेको आयोजनाले जनाएको छ ।