स्याङ्जामा धन्सार भत्किँदा एक बालिकाको ज्यान गयो,
असार १६, काठमाडौंः अविरल वर्षाको कारण धन्सार भत्किँदा स्याङ्जामा एक बालिकाको ज्यान गएकोे छ । गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्किँदा उहाँकी छोरी १२ वर्षीया रेखा भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिनुभयो ।
रेखा सुतिरहेका बेला धन्सार भत्किएको र उनलाई पुरेको प्रहरीले जनाएको छ । बिहान साढे ६ बजे धन्सार भत्किँदा घाइते भएकी भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन् ।
गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएका पनि प्रहरीले जनाएको छ ।
त्यस्तै
चितवनमा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उनले जानकारी दिए ।
यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ ।
यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गरेका छन् ।