एसइई उत्तीर्ण गरेकी छात्रालाई निःशुल्क प्लस टु
राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टु पढाइने र प्लस टुमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए।
एसइई उत्तीर्ण गरेपछि माथिल्लो तहको शिक्षा ग्रहण गर्ने छात्राको सङख्या अत्यन्त न्यून देखिएकाले उनीहरुलाई उच्च शिक्षामा पहुँच बढाउन नगर सभाले निर्णय गरेर यस बर्षदेखि कार्यान्वयनमा ल्याइएको उनले बताए।
उनले भने, ‘समग्र समाज शिक्षित नभएसम्म नगरको विकास सम्भव हुन सक्दैन। शिक्षित समाज स्थापनाका लागि एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टू पढ्इने योजना नगरपालिकाले ल्याएको छ।’
कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेसन शुल्क, परीक्षा शुल्क र मासिक शुल्कसमेत नगरपालिकाले नै व्यहोर्ने बताइएको छ।
यसैगरी दलित छात्र तथा छात्रालाई सिटिइभिटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए।