विश्व

अमेरिका र चीनको सम्बन्धमा सुधार नआए शीतयुद्धको खतरा

४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरसले अमेरिका र चीनले आपसी सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन् । शीतयुद्धको चेतावनी दिँदै उनले अहिले यी दुई मुलुकको सम्बन्ध अस्तव्यस्त रहेको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा गुटेरसले यी दुई मुलुकको सम्बन्धमा देखिएको तनावको असर अन्य मुलुकमा फैलिनबाट रोक्न पनि उनीहरुले सम्बन्ध सुधार गर्नुपर्ने बताएका हुन् ।

यसै साता विश्वका नेताहरुले राष्ट्रसंघको वार्षिक सभामा कोरोना भाइरस, जलवायु सम्बन्धी चिन्ताजस्ता धेरै विषयमा छलफल गर्नेछन् । गुटेरसले विश्वका प्रमुख दुई ठूलो अर्थतन्त्र बोकेका मुलुकबीच जलवायु परिवर्तनको विषयमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । उनले मानवाधिकार, अर्थतन्त्र, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद विषयमा दुवै मुलुकले सशक्तरुपमा वार्ता गर्नुपर्ने बताएका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरसले भने, ‘दुर्भाग्यवश अहिले दुई मुलुकबीच केवल तनाव देखिएको छ । हामीले दुवै मुलुकको सम्बन्ध पुनः सामान्य अवस्थामा ल्याउनुपर्छ । खोप अभियान, जलवायु परिवर्तन र अन्य धेरै विश्वव्यापी चुनौतीको सामना गर्न पनि यो आवश्यक छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button