खेलकुदमुख्य समाचार

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा नेपालको सानदार विजयी सुरुवात

बैशाख ४ काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतीमा पूरा गर्यो । नेपाललाई जित दिलाउन डेब्यु खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो । टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लु आउट गरेका हुन् । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान दिए ।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए । त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।

तर, १४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । यता इड्वार्डको विकेट लिएका शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो ।

चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए ।

कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् ।

त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए । अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button