पत्रपत्रिकाबाटमुख्य समाचारसमाज

तलाक माग्दा श्रीमानले छ्यापे एसिड: आधा शरीर जल्यो, आँखा कामै नलाग्ने

जनकपुरधाम – श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे।

एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो। उनलाई अहिले असह्य पीडा छ। औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ।

‘त्यस बेला मैले त केही बुझ्नै सकिनँ, सोझै सडकतिर भागें’, आरतीले आफ्नो पीडा रुँदै सुनाइन्, ‘छरछिमेकी र सडकमा भएकाहरूले मेरो जलिरहेको लुगा र लुगासँगै गलिरहेको शरीरको मासु हेरे। तर, कसैले सहयोग गरेनन्। आफैं एउटा टेम्पो चालकलाई हारगुहार गरेर टेम्पो चढी म जानकी हेल्थकेयर सेन्टर पुगें। तर, त्यहाँ तत्काल उपचार गर्न मानेनन्। पहिला पुर्जी कटाएर ल्याऊ भन्यो। मैले शरीर जलिरहेको पीडा खप्न सकिरहेकी थिइनँ। तर, हिम्मत नहारी एक जनासँग मोबाइल मागेर बुवालाई फोन गरें। बुवा त्यहाँ आइपुगेपछि मात्रै मलाई उपचार कक्षमा लगे।’

उनलाई थप उपचारका लागि काठमाडौं लगियो। तिलगंगा अस्पतालमा आँखाको शल्यक्रिया गरियो। अन्य उपचार पनि काठमाडौंकै अस्पतालहरूमा भयो। तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन्। तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन।

‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु। त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो। तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए। ‘कहीँबाट कुनै सहयोग छैन। जसलाई छोरी दिएँ उनले यस्तो दुर्दशामा पुर्‍याए’, उनले भने, ‘अब यसको र सानो नातिनीको जीवन कसरी चल्छ थाहा छैन।’ अन्नपूर्ण

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button