मुख्य समाचारराजनीति

एमालेभित्र तनाव बढ्दैः माधव नेपाल पक्षले ४ गते राष्ट्रिय भेला गर्ने, ओली आफ्नै लयमा

फाल्गुन २९, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

आज काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार चैत ४ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ । जसमा आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।

सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ । त्यस्तै, युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थीको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।

माधवकुमार नेपालले पार्टीमा आएका पछिल्ला विवादमा कानुनी पाटोबारे कानुन व्यवसायीहरू गोबिन्द वन्दी र टिकाराम भट्टराईसँग परामर्श लिएका छन् । नेपाल पक्षले आजको भेलापछि वक्तव्य जारी गर्न लागेको छ । कानुनी परामर्श र सांसद तथा केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल पक्षले वक्तव्य जारी गर्न लागेको हो ।

स्थायी कमिटीका तर्फबाट जारी हुन लागेको वक्तव्यमा एमालेमा केपी शर्मा ओलीले लिएको कदम र पछिल्लो राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक हुने बताइएको छ । उक्त वक्तव्यमा उपाध्यक्षको जिम्मेवारी खोसिएका वामदेव गौतमको पनि हस्ताक्षर हुने नेपाल समूहको दाबी रहेको छ ।

शुक्रबार मात्रै केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएका थिए ।

यस्तै उनले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा गराएका थिए । एकताअघि २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षका नेता १ सय २ जना थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा मनोनीतमध्ये ओली पक्षमा २८ सदस्य थिए  ।

१ सय ३० जना केन्द्रीय सदस्य रहेको भनिएको एमालेको पहिलो बैठक बसेर माओवादी केन्द्रबाट आएका नेताहरू रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेपछि बसेको दोस्रो बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button