कांग्रेस र जसपासँग वार्ता गर्न माओवादी केन्द्रले दियो दाहाल र श्रेष्ठलाई जिम्मा
फाल्गुन २६, काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरणबारे अरु पार्टीहरूसँग छलफल गर्नका लागि दुई सदस्यीय वार्ता टोली बनाएको छ । आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई वार्ताको जिम्मा दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभएको छ ।
मंगलबार पनि माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । नेता श्रेष्ठले सर्वोच्चको फैसलापछि नेकपा एमालेसँग पनि वार्ताका लागि आफूहरु खुला रहेको बताएका छन् ।
कांग्रेससँग छलफल सकारात्मक भए पनि जसपाले भने अझै निर्णय गर्न नसकेको ब्रिफिङ दाहालले बैठकमा गरेको साहले बताउनु भएको छ । उहाँका अनुसार कांग्रेस र जसपासँगको छलफललाई टुंगोमा पु¥याउन नै दाहाल र श्रेष्ठलाई वार्ताको जिम्मा दिएको हो ।
यस्तै बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य छन् ।