नेकपामा कार्यकर्ता भेलाको होडबाजी : आज राजधानीमा ओली समूहको कार्यकर्ता भेला, शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभा विघटनपछि नेकपाका दुई समुहबीच कार्यकर्ता भेलाको होडबाजी चलेको छ । अध्यक्षद्वय पूष्प कमल दाहाल र माधव कुमार नेपाल समुहले केही दिन अघि गरेको भेलापछि आज नेकपा केपी ओली समूहले शनिबार राजधानीमा कार्यकर्ता भेला गर्दैछ । बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ । यसअघि ओली समूहले बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सुदूरपश्चिमका कार्यकर्ताको भेला गरेको थियो । संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् ।
उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रचण्ड-नेपाल समूहले संसद विघटन प्रतिगामी कदम भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । ओलीले भने संसद पुनःस्थापना नहुने प्रष्ट पार्दै वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।