मुख्य समाचारराजनीति

संसद विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले माइतीघरबाट सुरु गर्यो प्रदर्शन

अध्यक्ष नेपाल, नेता खनाललगायतका नेता-कार्यकर्ताहरुको सहभागी

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी षड्यन्त्र भन्दै प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले आज माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहने गरी बैठकले २५ सय एक सदस्यीय संघर्ष कमिटी बनाएको छ । हिजो केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button