स्वास्थ्य

चाडपर्वमा कोरोना सङ्क्रमण बढ्नसक्ने भन्दै गृहमन्त्रालयद्वारा सचेत रहन निर्देशन

काठ्माण्डौ। गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड १९ को सङ्क्रमण बढ्नसक्ने भएकाले मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई सचेत रहन निर्देशन दिएको छ । मन्त्रालयले नेपालमा तीव्ररुपमा कोरोना सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्ने तर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मक रुपमा हरसम्भव उपायहरु अवलम्बन गर्न र गराउन मातहतका सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कोभिड १९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्ड अनुरुप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रुपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै अतिआवश्यक काम नपरि घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । कानुन विपरीतका गतिविधिमा संलग्न हुनेलाई तत्काल कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button