राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई यसबर्षको नोवेल शान्ति पुरस्कार

एजेन्सी– सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने भएको छ। एक वर्षमा ८८ देशका ९ करोड ७० लाख मानिससम्म सहयोग पुर्याउन सफल राष्ट्रसंघीय खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार पाउन सफल भएको हो।
नर्वेको नोबेल कमिटीकी अध्यक्ष बेरिट राइस एन्डर्सनले नोबेल शान्ति पुरस्कारको घोषणा गरिन्। उनले सन् २०१९ मा ८८ देशका करिब १० करोड मानिससम्म विश्व खाद्य कार्यक्रमले सहायता पुर्याएको भन्दै प्रशंसा गरेकी छन्।
विश्व खाद्य कार्यक्रमम विश्वभरका मानिसको भोक मेटाउने र खाद्य सुरक्षालाई बढावा दिने सबैभन्दा ठूलो संगठन हो। संगठनले कोरोनाका क्रममा विश्वभरमा गरिब तथा भोकमरीमा परेकाहरुलाई खाना खुवाउनका लागि अहम् भूमिका खेलेको थियो।
कोरोना महामारीका क्रममा विश्व खाद्य कार्यक्रमको जिम्मेवारी अझै बढेको छ। कोरोनाका कारण भोकसँग जुधिरहेका मानिसको संख्या कयौँ गुणाले बढेको अवस्थामा खाद्य कार्यक्रमको भूमिका अझै बढेको हो। ‘जबसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउँदैन, तबसम्म खाना नै सबैभन्दा उत्कृष्ट भ्याक्सिन हो,’ संस्थाले भनेको छ।